०७ पौष, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले १५ औँ महाधिवेशनमा पनि आफूले सभापतिमै चुनाव लड्ने बताएका छन् ।
आज नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले सो कुरा बताएका हुन् । कोइरालाले आफू फेरि पार्टी सभापतिमा चुनाव लड्ने जानकारी दिँदै जित्नेमा पनि शतप्रतिशत ढुक्क रहेको बताए । १४ औँ महाधिवेशनमा आफ्नो पक्षमा लागेको टिम अहिले पनि दाया-बाँया नभएको कोइरालाले दाबी गरे । महामन्त्री गगन थापा पनि आफूसँगै रहेको उनको दाबी थियो ।
अहिले कांग्रेस महाधिवेशनका लागि जुर्मुराएको बताउँदै कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो सम्बन्ध टाढाको दूरी नभएको बताए । उनले सभापति देउवा सुदूरपश्चिमको मात्र नभइ देशकै आदरणीय व्यक्ति रहेको बताए । कोइरालाले वर्तमान सरकार असफल भए देशमा अराजकता निम्तिने पनि बताए । यसर्थ यो सरकारलाई असफल हुने छुट नभएको उनको भनाइ छ । जुन म्याण्डेडअनुसार सरकार बनेको हो त्यहीअनुसार अघि बढ्नु पर्ने कोइरालाले स्पष्ट पारे । सरकारले संविधान सुधारका लागि तत्कालै सबै दलसँग समन्वय र समझदारी गरेर अघि बढनु पर्नेमा उनले जोड दिए ।
अहिलेसम्म सरकारले संविधान सुधारका बारेमा छलफल नै नगरेको कोइरालाको आरोप छ । अघिल्लो महाधिवेशनमा पनि पार्टी सभापतिमा लडेका कोइराला देउवासँग पराजित भएका थिए ।