०७ पौष, काठमाडौं । काठमाडौँ महानगरपालिकाको सहकारी विभागले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १ हजार ५ सय ९३ वटा उजुरी फर्स्यौट गरेको छ ।
चालु आवको साउन, भदौ, असोज र कार्तिकमा यति संख्यामा उजुरी फस्र्यौट भएको हो । यस अवधिमा विभिन्न निकायबाट माग भएका ६३ वटा विवरण पठाएको छ भने ४ सय वटा सहकारी संस्थाको फाइल अद्यावधिक गरिएको महानगरपालिकाले जनाएको छ । गुनासो पोर्टलमा आएका सहकारी विभागसँग सम्बन्धित ३१ वटा गुनासोमध्ये २५ वटा गुनासो सम्बोधन भइसकेका छन ।
गत आर्थिक वर्ष अनुगमन गरिएका ४० वटामध्ये ३९ वटालाई सफाइ पेस गर्न १५ दिनको समय दिइएको थियो । समय दिइएका सबैले सफाइ पेस गरेका छन् । सफाइ दिनेमध्ये ९ वटाको सफाइ चित्त बुझ्दो नदेखिएपछि कारबाही र थप अनुसन्धानका लागि प्रहरीमा लेखेर पठाइएको छ । ३ वटा सहकारीलाई निर्देशन दिइएको अन्यलाई निर्देशनका प्रदान गर्नेगरी तयारी भइरहेको छ ।
यस्तै विभागमा आउने धेरै उजुरीहरू सञ्चालक समितिका सदस्य, बचतकर्ता, ऋणी, घरधनी र कर्मचारीसँग सम्बन्धित छन् । ९४ अर्ब १५ करोड रुपैयाँ शेयर पुँजीसहित देशभरि ३१ हजार ३ सय ७३ सहकारी संस्था छन् । यसमा सङ्घीय सहकारीको संख्या १२५, बागमती प्रदेशमा ३ हजार २७२ (उपत्यकाभित्र २ हजार ३९२) र काठमाडौँ महानगरपालिकाभित्र १ हजार ९३५ वटा सहकारी संस्था छन् ।