०७ पौष, काठमाडौं । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले आज बार डे मनाएको छ ।
६९ औँ स्थापना दिवसका अवसरमा आज बार परिसर रामशाहपथमा पहिलो बार कार्यसमितिमा रहेका कार्यसमिति सदस्यहरूको तस्बिरमा माल्यार्पण गरेर बार डे मनाइएको हो । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बार दिवस-२०८१ विभिन्न कार्यक्रमको आयोजना गरि देशैभरका कार्यालयहरूमा मनाइएको जानकारी दिए । बारले निरंकुश व्यवस्थासँग लडेको, अन्य थुप्रै न्यायिक सुधारहरूमा लडिरहेको उनले बताए ।
उनले न्यायालयमा हुने गरेको बेतिथिका विरुद्ध बारको लडाई निरन्तर रहेको धारणा राखे। घिमिरेले न्यायाधीश नियुक्तिमा भएको ढिलाइमा बारको कुनै भूमिका नरहेको भन्दै छिटै बारका तर्फबाट नाम पठाइने जानकारी दिए । न्यायपरिषद्ले गर्नुपर्ने धेरै काम नगर्ने र त्यसको दोष बारतर्फ देखाउन प्रवृतिले बेला–बेलामा समस्या आउने गरेको उनले बताए । २०१३ साल पुस ७ गते स्थापना भएको बार एशोसिएशनले प्रत्येक वर्ष पुस ७ गते बार डे मनाउँदै आएको छ ।