०७ पौष, काठमाडौं । दुई सयभन्दा बढी ओमकार धार्मिक संघ-संस्थाको सम्पन्न वृहद सम्मेलनमा विश्व सनातन हिन्दु महासभा गठन गर्ने निर्णय गरिएको छ ।
पुस ५ र ६ गते चाबहिलमा आयोजना भएको सम्मेलनमा सबै ओमकार परिवारका संघ, महासंघ, संस्थाहरुको साझा आस्थाको केन्द्रका रुपमा महासभा गठन गर्ने निर्णय गरिएको हो । सम्मेलनले सरकारसँग विभिन्न माग राख्दै अन्य १३ बुँदे निर्णय गरेको छ । अबको १ वर्षभित्र नेपालको ७ वटै क्षेत्रमा क्षेत्रीय धार्मिक संघसंस्था निर्माण गर्ने पनि सम्मेलनले निर्णय लिएको छ । ऐनिहासिक एवं शास्त्रीय आधारबाट नै नेपाल सनातन हिन्दु संस्कृतिको मुल केन्द्र भएको र यसै आधारमा नेपाल राष्ट्र बनेको सम्मेलनको निस्कर्ष छ ।
जनभावना विपरित २०७२ साल असोज ३ गते राजनीतिक दलहरुले धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेर समग्र धर्म मान्ने नागरिकको अपमान भएकाले धर्म सापेक्ष नभएसम्म ‘असोज ३ लाई कालो दिनका रुपमा मनाउने’ निर्णय सम्मेलनबाट गरिएको छ । सो दिन सबै सनातन ओमकार परिवारले अन्न ग्रहण नगर्ने व्रत आन्दोलनको रुपमा सुरु गर्ने सम्मेलनबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । ७७ जिल्लामा भएका धार्मिक संस्था र मन्दिरहरु संगठित गरेपिछ सनातन हिन्दु राष्ट्र पुनस्र्थापनाको आन्दोलनको अल्पकालीन र दिर्घकालीन कार्यक्रम बनाउने सम्मेलनको निर्णय छ । सनातन हिन्दू राष्ट्र पुर्नस्थापनाको आन्दोलन र अन्य निरन्तरका कार्यका निम्ति सकेको ठूलो अक्षय कोष बनाउने निर्णय पनि भएको छ ।
विभिन्न मताबलम्बीहरुले हिन्दुलाई भड्काउन देशैभरि गौहत्या गरिरहेको घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न सरकारसमक्ष माग गरिएको छ । पासपोर्ट बनाउँदा टिका र टोपी लगाउन नदिने, राष्ट्रिय परिचयपत्रमा गरगहना खोल्न लगाउने, टिका, तिलक पुछ्न लगाउने कार्यको सम्मेलनले विरोध गरेको छ । नागरिकतामा सबैथरि नेपालीको वंश पहिचानको परिचय खुल्ने, हाडनाता खुलाउन गोत्र लेख्ने सुविधा दिने व्यवस्था गर्न माग गरिएको छ । सम्मेलनले नेपाललाई धर्मसापेक्ष हिन्दु राष्ट्र कायम गर्न जोडदार माग गरेको छ ।