|  

आधा किलो सुनसहित २ भारतीय नागरिक पक्राउ

०७ पौष, काठमाडौं । आधा किलो सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले ५४९.२०० ग्राम सुन, नगद र अन्य सामग्रीसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारतको पलियाका ४४ वर्षीय दीपक गुप्ता र ३४ वर्षीय सुमित वर्मा रहेका छन् । धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराहमा शंका लागेपछि चेकजाँच गर्दा यूपी ३२ जेभी ९२०० नम्बरको मोटरसाइकलबाट सुन, ल्यापटप, मोबाइल, ४४ हजार ८१० नेपाली रुपैयाँ र १ हजार २८० भारतीय रुपैयाँ बरामद गरिएको कैलाली प्रहरीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले जानकारी दिए ।

पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको र घटनाको थप विवरण संकलन भइरहेको प्रहरी कार्यालयले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले नेपालमा बिक्री गरेर नाफा कमाउने उद्देश्यले सुन तस्करी गरी ल्याइएको खुलेको छ । पक्राउ परेका मध्येका सुमितले भारतको पलियामा सुनचाँदीको व्यवसाय गर्दै आएको प्रहरीले जनाएको छ ।