०७ पौष, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्रै संयन्त्र बनाएर काम सुरु गर्ने बताएका छन् ।
आज काठमाडौंमा कांग्रेसको सय दिने विशेष अभियान अन्तर्गत काठमाडौं-१३ को दोस्रो वडा सम्मेलनलाई सम्बोधन गर्दै थापाले कांग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम सुरु गर्ने बताए । थापाले संयन्त्रले संविधानमा न्यूनतम चलाउनुपर्ने र चलाउनसक्ने विषयमा समझदारी कायम गर्ने बताए । संविधान संशोधनपछि एउटा अवधि एउटा राजनीतिक दलले सरकार चलाउन पाउने अवस्था बनाउने बताए ।
महामन्त्री थापाले संयन्त्र सुझबुझपूर्ण ढंगले बनाइने र सम्हालिएर संविधान संशोधन गर्ने बताए । उनले सबै राजनीतिक दलहरूसँग छलफल गरेर संविधान संशोधन गर्नैपर्ने न्यूनतम कुराहरूको संशोधन हुने बताए । महामन्त्री थापाले २०८४ को निर्वाचनमा जाँदा २०८१ देखि २०८३ सम्मको कामको जिम्मेवारीबाट कुनै पनि राजनीतिक दल भाग्न नहुने बताए । उनले यो अवधिमा आफूले गरेका कामहरूको फेहरिस्त बोकेर जनतासँग जानसक्ने हैसियत बनाउनुपर्ने बताए । निर्वाचनभन्दा अगाडिको अवधिको जिम्मा लिने कुनै पनि राजनीतिक दल नरहेको भन्दै उनले अब जिम्मेवारी लिनेगरी मात्रै जनतामाझ जानुपर्ने आवश्यक रहेको बताए ।
चुनावको परिणाम जेसुकै आए पनि २०८४ को चुनावमा १ सय ६५ निर्वाचन क्षेत्र, प्रदेशका ३३० स्थान, सबै नगरपालिका र वडामा कांग्रेसले एक्लै चुनाव लड्ने उनले बताए । महामन्त्री थापाले कांग्रेसले विधिको शासन स्थापित गर्नुपर्ने बताए । उनले सबै नागरिकसँग राज्यले बराबर व्यवहार गर्ने स्थिति सिर्जना गर्नुपर्ने बताइन् । सरकारले केही समयभित्रै परिवर्तनका केही संकेतहरू देखिने गरी काम गर्ने उनको दाबी छ ।