|  

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक संशोधनसहित पारित

०७ पौष, काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ संशोधनसहित पारित गरेको छ ।

विधेयकमाथि राष्ट्रियसभाबाट आएको संशोधन प्रतिवेदन र प्रतिनिधिसभा सांसदहरूबाट परेका संशोधनमाथि छलफलपछि बैठकले विधेयक पारित गरेको हो । समिति सभापति सन्तोष चालिसेले विधेयकमाथिको संशोधन प्रतिवेदन दुई दिनभित्र तयार पार्न समिति सचिवालयलाई निर्देशनसमेत दिएका छन । राष्ट्रियसभाबाट पारित भएर आएको उक्त विधेयकमा छ जना सांसदको संशोधन प्रस्ताव परेको थियो ।

सांसदहरू रणेन्द्र बराइली, निशा डाँगी, दामोदर पौडेल बैरागी, माधव सापकोटा, सोबिता गौतम र प्रेम सुवालले संशोधन प्रस्ताव हालेका थिए । संशोधनकर्तामध्येका सांसद सुवाल र डाँगी समितिमा छलफलका लागि उपस्थित नभएको पनि सभापति चालिसेले जानकारी दिए । कुनै व्यक्ति तथा निकायबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाई सुरक्षित कारोबारसम्बन्धी कानुनी व्यवस्था समयानुकूल बनाउन आवश्यक भएको भन्दै अर्थ मन्त्रालयले विसं २०८० फागुन ४ गते यो विधेयक राष्ट्रियसभामा दर्ता गरेको थियो ।