|  

स्थानीय मेला महोत्सवले अर्थतन्त्रमा टेवा पुग्छः उपप्रधानमन्त्री सिंह

०७ पौष, काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय मेला महोत्सवले अर्थतन्त्रमा टेवा पुग्ने बताएका छन् ।

आज पोखरामा आयोजित भदौरे पञ्चासे कोदो महोत्सव तथा ल्होसार मेलाको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मेला महोत्सवले स्थानीय उत्पादन प्रवद्र्धन र कला संस्कृतिको संरक्षणमा मेला महोत्सवको भूमिका महत्वपूर्ण रहेको बताए । उपप्रधानमन्त्री सिंहले भने, ‘गाउँमा जे छ त्यसलाई हामी सबै मिलेर सुख, दुस्ख बाँडेर जीवनलाई खुसी पार्नका लागि हामी लाग्नुपर्छ । महोत्सवले सहरमा मात्र होइन विकट ठाउँमा पनि आन्तरिक पर्यटक पनि बढ्छ । सकेसम्म विदेशी पाहुनालाई पनि आकिर्षत गर्न सकियो भने अझ राम्रो हुन्छ ।’

नागरिकको जीवन सहज बनाउनका लागि सरकारले काम गरिरहेको पनि उनले बताए । प्राप्त अधिकार संस्थागत गर्दै हरेक नेपालीको जीवन सहज बनाउनुपर्छ भन्ने चाहनालाई पूरा गर्न सरकार लागिपरेको उनले बताए ।