०७ पौष, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पेट्रोलियम सवारी साधनको आयातमा वृद्धि भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालमा १हजार देखि १५ सय सीसी क्षमता भएका १ अर्ब ७२ करोड ४२ लाख ६८ हजार रुपैयाँ बराबरको १४ सय ३७ वटा सवारी साधन आयात भएको हो । जुन संख्या गत आर्थिक वर्षको तुलनामा ९१ वटाले बढी हो । गत आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालमा एक हजार सीसी देखि १५ सय सीसी सम्मको पेट्रोलियम इन्जिन भएका १३ सय ४६ थान गाडी भित्रिएका थिए । जसको आयात मूल्य १ अर्ब ५२ करोड १८ लाख ४० हजार रुपैयाँ रहेको थियो । सरकारले ती संख्यामा सवारी सवारी साधन आयात गर्दा ३ अर्ब ९२ करोड ३ लाख ८५ हजार रुपैयाँ भन्सार राजस्व आम्दानी गरेको थियो ।
गत आर्थिक वर्षको १२ महिनामा नेपालमा पेट्रोलियम इन्जिन भएका २ अर्ब ७३ करोड ७२ लाख ३५ हजार रुपैयाँ बराबरको २४ सय ८८ वटा सवारी साधन आयात भएको थियो । जसबाट सरकारले ७ अर्ब ७ करोड ३३ लाख ११ हजार रुपैयाँ भन्सार राजस्व आम्दानी गरेको थियो । पेट्रोलियम इन्जिन भएका सवारी साधनको आयातमा वृद्धि भएसँगै सरकारले राजस्व आम्दानी समेत बढाएको छ । समीक्षा अवधिमा सरकारले आयात गरिएका एक हजार देखि १५ सय सीसीका सवारी साधनबाट चौथो धेरै अर्थात ४ अर्ब ६३ करोड २९ लाख ७ हजार रुपैयाँ भन्सार राजस्व आम्दानी गरेको छ ।
चालु आर्थिक वर्षको समीक्षा अवधिमा सरकारले सबैभन्दा धेरै भन्सार राजस्व डिजेलको आयातबाट १८ अर्ब ७९ करोड ५२ लाख ७६ हजार रुपैयाँ र पेट्रोलको आयातबाट १७ अर्ब ३४ करोड ९९ लाख ८ हजार रुपैयाँ आम्दानी गरेको छ । भन्सार राजस्व आम्दानीको तेस्रो स्थानमा पेट्रोल इन्जिनका सवारी साधन रहेको देखिन्छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा पेट्रोल इन्जिनका सवारी साधनबाट हुने भन्सार राजस्व छैठौं स्थानमा रहेको थियो ।