०७ पौष, काठमाडौं । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको समस्या पहिचान गरी समाधानको उपायसहित प्रस्ताव ल्याउन पदाधिकारीलगायत सभाका सदस्यहरुलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार कुलपतिले सभाका सदस्यहरुलाई अनौपचारिक बैठकमा डाकेका थिए । बैठकमा विश्वविद्यालयका विविध खालका समस्या र सुधारका बिषयमा छलफल भएको थियो । छलफलमा कुलपति ओली सहित सहकुलपति तथा शिक्षामन्त्री विद्या भट्टराई, उपकुलपति केशरजंग बराल, रेक्टर खडग केसी, रजिष्ट्रार केदार रिजालसहित डिनहरु, प्राध्यापक, विद्यार्थी, कर्मचारी प्रतिनिधि सहभागी थिए । करिब तीन घण्टा भएको छलफलमा प्राध्यापक, कर्मचारी, विद्यार्थी, पब्लिक क्याम्पसलगायत क्षेत्रका प्रतिनिधिले क्षेत्रगत समस्या र समाधानका उपाय सुझाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलपछि प्रधानमन्त्री ओलीले सबै क्षेत्रका समस्या र मागलाई समेटेर सरोकार भएका पक्षसाग थप छलफल गरी समाधानका उपायसहित निर्णय गर्नुपर्ने विषयहरु प्रस्तावका रुपमा ल्याउन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन् । गत मंसिर २७ गते कीर्तिपुरमा भएको त्रिविको सिनेट बैठकमा प्रस्तुत कार्यसूचीमा पदाधिकारी र सिनेट सदस्यबीचको दूरी बढेको महसुस भएपछि कुलपति ओलीले विस्तृत छलफल गर्न भन्दै अनौपचारिक छलफल डाकेका थिए । सहभागीहरुको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले पर्याप्त गृहकार्य र एक प्रकारको सहमति भएपछि औपचारिक बैठकमा प्रस्ताव ल्याउन आग्रह गरे ।