|  

आज पाँच वटा समितिको बैठक बस्दै

८ पुस, काठमाडौं । संघीय संसद अन्तर्गत ५ वटा समितिको बैठक आज बस्दैछ ।

आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

जस अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा नेपालमा उत्पादित सुपारी निर्यात व्यवस्थापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

बिहान साढे ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयनमा वनक्षेत्र र राष्ट्रिय निकुञ्जसँग सम्बन्धित समस्याका विषयमा छलफल हुनेछ ।

यसैगरी, महिला तथा सामाजिक मामिला समिति बैठक मध्याह्न १२ बजे बस्ने छ । बैठकमा आत्महत्या रोकथाम सम्बन्धमा समितिबाट भएको निर्देशन कार्यान्वयन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

राज्य व्यवस्था समितिको बैठक दिउँसो १ बजे बस्ने बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।

यता विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने तयारी छ ।