०८ पौष, काठमाडौं । गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालय (केयू) को मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन-अनुसन्धानका लागि समझदारी भएको छ ।
गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख डा.टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. दीपक कुँवरले आज समझदारीपत्रमा हस्ताक्षर गरेका हुन । त्यस अवसरमा गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा आत्महत्याका घटनालाई नियन्त्रण र न्यूनीकरणमा सहयोग पुग्ने धारणा राखेका छन् । गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा एक वर्षमा आत्महत्याका घटना ठूलो संख्यामा घट्ने उनले विश्वास व्यक्त गरे । आत्महत्याको कारण, कारक र निदानको उपायको खोजीका लागि काठमाडौं विश्वविद्यालयले अध्ययन र अनुसन्धान गर्ने उनको भनाइ छ ।
आत्महत्या नियन्त्रण र न्यूनीकरणसम्बन्धी मानसिक स्वास्थ्य विभागले नेपाल प्रहरीलाई पनि आधारभूत तालिम दिने गृहमन्त्री लेखकले बताए । केही समयपछि आत्महत्यासम्बन्धी एउटा ‘एप’ विकास गरेर सबै कुरालाई एपमा समावेश गर्ने योजना रहेको पनि उनको भनाइ छ । आत्महत्या न्यूनीकरणबारे तीन महिनामा आवधिक मूल्यांकन गर्न गृहमन्त्री लेखकले निर्देशन दिए ।
यसैवीच, विश्वविद्यालयका मानसिक स्वास्थ्य विभागका प्रमुख कुँवरले गृह मन्त्रालयसँग भएको सम्झौताले आत्महत्या न्यूनीकरणका लागि काठमाडौं बाहिर पनि काम गर्ने अवस्था बनेको बताए ।