|  

नेपाल टेलिकमको बिटीएस टावरमा क्षति पुग्दा सेवा अवरुद्ध 

०८ पौष, काठमाडौं । नेपाल टेलिकमको बिटीएस टावरमा क्षति पुग्दा सेवा अवरुद्ध भएको छ ।

कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लामा रहेका नेपाल टेलिकमका बिटिएस टावरहरुमा अनधिकृत रुपमा केही समूह तथा व्यक्तिहरुले अवाञ्छित क्रियाकलाप गरी क्षति र्पुयाएकोले गर्दा सेवा अवरुद्ध हुन पुगेको नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमका प्रवक्ता हरि ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सर्केगाड गाउँपालिका-५ स्थित बरै माइक्रो वी.टी.एस.टावरमा पौष ४ गते सोलार प्यानल, भीएसएटीका उपकरणहरु तथा अर्थिंङ केवलमा क्षति पुगेको र विकट भौगोलिक अवस्थितिका कारणले मर्मत कार्य सम्पन्न भई सेवा सुचारु हुन केही समय लाग्न सक्ने भएको हुँदा यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमा प्रार्थी छ ।’

सार्वजनिक महत्वका सरकारी सम्पत्तिमा क्षति र्पुयाउने र सर्वसाधारणको अविच्छिन्न सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरू नगर्न नगराउन समेत टेलिकमले अनुरोध गरेको छ ।