९ पुस, काठमाडौं । फिल्म अभिनेता अल्लु अर्जुन मंगलबार हैदराबादको चिक्कडपल्ली प्रहरी चौकी पुगेका छन् । सन्ध्या थिएटर घटनाको सम्बन्धमा हैदरावाद प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको छ ।
यो मामला अल्लु अर्जुनको फिल्म ‘पुष्पा–२: द रुल’ को प्रदर्शनका क्रममा भागदौड हुँदा एक महिलाको मृत्युको हो ।
अल्लु अर्जुनको घर बाहिर पनि सुरक्षा बढाइएको छ । प्रदर्शनकारी आइतबार उनको घरबाहिर पुगेका थिए ।
यस मामिलामा अल्लु अर्जुनले हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएका थिए । उनी १४ डिसेम्बरको बिहान रिहा भएका थिए ।
हैदरावाद प्रहरीले उनलाई एक दिनअघि १३ डिसेम्बरमा पक्राउ गरी अदालतमा पेश गरेको थियो ।
तर, केही समयपछि तेलंगाना उच्च अदालतले उनलाई चार हप्ताको लागि अन्तरिम जमानत दिएको थियो । तर त्यो रात उनी रिहा भएनन् ।