९ पुस, काठमाडौं । सभापति रवि लामिछाने राज्यको र महामन्त्री डा. मुकुल ढकाल पार्टीको कारबाहीमा पर्दा रास्वपा कार्यवाहकमा धकेलिएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा र पर्साको साइनो पाइला सहकारीको रकम अपचलनसम्बनधी प्रकरणमा मुछिएका रवि लामिछाने गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका थिए ।
पक्राउ परेलगत्तै पोखरा पुर्याइएका रवि लामिछाने अहिले पनि जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन् । यद्यपि, यसबीचमा उनलाई उल्लिखित सबै जिल्ला पुर्याएर सम्बन्धित सहकारीका बारेमा बयान लिइएको थियो ।
उक्त बयान समेटेर प्रहरीले सरकारी वकिलको कार्यालय, कास्कीमा चार सयभन्दा बढी पृष्ठको प्रतिवेदन बुझाइसकेको छ । उक्त प्रतिवेदनका आधारमा कार्यालयले जिल्ला अदालत, कास्कीमा अभियोगपत्र दर्ता गराइसकेको छ । यसपछि उनले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा जिल्ला अदालत, कास्कीमा अभियोगपत्र दर्ता भएको छ ।
यससँगै उनले सांसद पद मात्रै होइन, पार्टीको सभापतिसमेत गुमाएका छन् । लगत्तै सोमबार बसेको पार्टी सचिवालयको बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई दिएको छ ।
प्रहरी हिरासतमा दुई महिना पूरापुर रहँदासमेत कार्यवाहक सभापति नतोकेका रवि लामिछानेले अदालतमा अभियोगपत्र दर्ता भएपछि भने उपसभापति अर्याललाई कार्यवाहक सभापति बनाए ।
त्यसो त रास्वपा कार्यवाहकमै चलिरहेको छ । रास्वपामा महामन्त्री पनि कार्यवाहकले नै चलाइरहेका छन् । सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी अहिले कार्यवाहक महामन्त्रीको जिम्मेवारीमा छन् ।
संस्थापक महामन्त्री डा. मुकुल ढकाल पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेपछि सहमहामन्त्री बुर्लाकोटी कार्यवाहक महामन्त्रीको जिम्मेवारीमा आएका हुन् ।
रास्वपामा उपसभापति र महामन्त्री मात्रै होइन, प्रवक्तासमेत कार्यवाहकले नै धान्नुपरेको छ । कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा सहप्रवक्ता मनीष झा छन् ।
यसअघि प्रवक्ताको जिम्मेवारीमा पनि कारबाहीमा परेका महामन्त्री डा. मुकुल ढकाल नै थिए । तर, उनी कारबाहीमा परेलगत्तै प्रवक्ताको जिम्मेवारी सहप्रवक्ता झाले लिएका हुन् ।
एक पद खाली..........
सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गरेपछि रविको सांसद पद निलम्बनमा छ । रवि संसदीय दलको नेता थिए । सांसदबाट निलम्बन भएसँगै अब स्वत् संसदीय दलको नेता पद खाली छ ।
जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको सूचना पाएसँगै सभामुख देवराज घिमिरेले सूचना टाँसेर लामिछानेको सांसद पद निलम्बन भएको जनाइसकेका छन् ।
८ माघ २०७९ देखि रास्वपा संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ छन् । रास्वपा संसदीय दलको बैठकले नै कार्यवाहक नेता तोक्नुपर्ने हुन्छ । कि संसदीय दलको नेता नै बनाउनुपर्ने हुन्छ । संसद अधिवेशन आह्वान भएपछि दलको बैठक राख्ने रास्वपाको तयारी रहेको बताइएको छ ।