|  

प्रभावकारी संसद् बनाउन पत्रकारको निगरानी आवश्यकः सभामुख

१० पौष, काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय लोकतन्त्र प्रवद्र्धनका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

आज भक्तपुरको नगरकोटमा सम्पन्न ‘संसद्-सञ्चार’ अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । पत्रकारिता पेसालाई लोकतान्त्रिक पद्धतिमा सँगसँगै लिएर गए मात्रै लोकतन्त्र बलियो हुने उनको विश्वास छ । सभामुख घिमिरेले भने, ‘लोकतन्त्रलाई बलियो बनाउन प्रभावकारी संसद् बन्नुपर्छ । प्रभावकारी संसद् बनाउन सञ्चारमाध्यम र पत्रकारले निगरानी गर्न आवश्यक छ । सत्यतथ्यमा आधारित भएर सही सूचना प्रवाह गर्नु सञ्चारमाध्यमको पहिलो दायित्व हो । त्यसैले संसद्ले गर्ने गतिविधिलाई सुधार गर्न रचनात्मक सञ्चारमाध्यम र पत्रकारको सहयोग आवश्यक पर्दछ ।’

अहिले संसद्मा बजेट र विधेयकहरूको प्रभावकारी छलफल भइरहेको बताउँदै सभामुख घिमिरेले यसको सूचना जनस्तरसम्म पुग्नुपर्नेमा जोड दिए । संसद्लाई थप प्रभावकारी बनाउन सचिवालयले नयाँ ढङ्गबाट काम गरिरहेको उनले बताए । 

यसैबीच, उपसभामुख इन्दिरा रानामगरले संसदीय ‘रिपोर्टिङ’ गर्दा संसदीय अभ्यास र प्रक्रियाका विषयमा पत्रकार जिम्मेवार र इमानदार भएर समाचार सङ्कलन गर्नुपर्ने बताइन । कार्यक्रममा सहभागी पत्रकारहरूले राजनीतिक दल, सांसद र सरकारलाई संसद्प्रति उत्तरदायी बनाउनुपर्ने र संसदीय ममिलाका विषयहरू छलफलका माध्यमबाट संसद्को वरिपरि रहेर निर्णय हुनुपर्ने धारणा राखेका थिए ।