१० पुस, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता तथा सांसद डा. शशांक कोइरालाले नेपाली कांग्रेसले बीपी कोइरालाका विचार अंगालेर अगाडि बढ्न जरुरी रहेको बताएका छन् । आज (बुधबार) नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले कुनै पनि नेताले समाजका लागि सोच्न जरुरी रहेको बताए । समाजका लागि सोचेमात्रै राजनीति हुने उनले बताए । आफ्नो मात्र चिन्ता गरेर राजनीति नचल्ने उनको जिकिर छ । उनले नेपाली समाज वर्षौ पुरानो रहेको उल्लेख गर्दै त्यो समाजलाई निरन्तरता दिने काम नयाँ पुस्ताको भएको बताए ।
उनले भने, ‘आज मान्छेले बीपी कोइरालालाई किन सम्झिन्छन्, उहाँ करोडपति वा अर्बपति त हुनुहुन्नथ्यो । किनभने उहाँले आफ्नो जीवन यस्तो प्रयोग गर्नुभयो । उहाँले आफ्नो जीवन अरुका लागि व्याप्त गर्नुभयो । मान्छेले आफूबाट निस्किएर गएपछि मात्र राजनीति शुरु हुन्छ । आफ्नो बारेमा मात्र चिन्ता गरेर त्यस्तो राजनीति चल्दैन । हाम्रो समाज हजारौं वर्षदेखि चलिआएको समाज हो । त्यो समाजको निरन्तरता हामीले दिने हो । विपी कोइरालाको जुन विचार छ, त्यो विचारमा अडिएर हामीले अगाडि बढ्नु पर्छ ।’