१० पौष, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वच्छ, मर्यादित र सशक्त पत्रकारिताका माध्यमबाट विकास र समृद्धिको यात्रालाई पूरा गर्न सकिने बताएका छन् ।
आज नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई पद हस्तान्तरण तथा प्रमाणपत्र वितरण समारोहमा उनले यस्तो बताएका हुन् । उनले पेसागत रूपमा स्वतन्त्र भई पत्रकारले स्वच्छ र मर्यादित पत्रकारिता गर्नुपर्ने भन्दै यसले समृद्ध मुलुक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
मुख्यमन्त्री कार्कीले पत्रकारको सामूहिक हकहित र अधिकारको रक्षा गर्ने संस्थाका रूपमा रहेको पत्रकार महासङ्घको निर्वाचन खर्चिलो बन्न नहुने भन्दै सहमति, सहकार्य र एकताबाट असल नेतृत्व छान्नुपर्नेमा जोड दिए । उनले विकास र समृद्धिको यात्रालाई पूरा गर्न पत्रकारिता क्षेत्र सत्यतथ्यमा आधारित हुनुपर्ने बताउँदै संविधानको सर्वोच्चता, मानव अधिकार, लोकतन्त्रको रक्षाका लागि पत्रकारिता सहयोगी हुने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले आगामी हिउँदे अधिवेशनमा सञ्चार प्रतिष्ठान विधेयक ल्याउने तयारीसँगै सरकारले थप विधेयक सदनमा ल्याउन लागेको जानकारी दिँदै पत्रकारहरूको वृत्ति विकासका लागि लेखन, अनुसन्धान र खोजमूलक सामग्रीको प्रकाशन, सीप विकाससम्बन्धी तालिमलगायत व्यवस्थापन गरिने उल्लेख गरे । उनले विधि र प्रक्रिया मिचेर प्रदेश सरकारले कुनै पनि काम नगर्ने भन्दै आफ्नै लगानीमा प्रदेशमा लगानी सम्मेलन गर्ने तयारी भइरहेको उल्लेख गर्दै लगानी सम्मेलनबाट कृषि, पर्यटन र उर्जाका क्षेत्रमा रु ५० अर्ब भित्रने अनुमान गरिएको बताए ।