११ पुस, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटमा गत शनिबार घटेको घटनामा नयाँ तथ्य फेला परेको छ ।
बाबु कुलप्रसाद आचार्य र भाइ प्रवीणको हत्यामा संलग्न मिलन (कुलप्रसादका जेठा छोरा)को मोबाइलमा एउटा ‘स्केच’ भेटिएको छ । मिलन आफैंले बाबु र भाइको आकृति झल्किने स्केच बनाएर ‘क्रस’ चिह्न लगाएका छन् ।
यस्तो कार्य सुरक्षा निकायले अपराधीको ‘सफाया’ गर्दा होस् वा ‘ग्याङस्टार’ ले आफ्ना प्रतिद्वन्द्वीको सफाया गर्दा प्रयोगमा ल्याउने गरेको सुरक्षा अधिकारीहरू बताउँछन् । केही फिल्ममा पनि यस्तो दृश्य देखाइन्छ । प्रहरीले मिलनलाई किन यस्तो स्केच बनाएको भनेर सोधेको थियो ।
जवाफमा मिलनले जिन्दगीमा केही गर्न नसकेकाले बाबु र भाइलाई मारेर आफू पनि मर्ने योजना अनुसार स्केच बनाएको उल्लेख गरेका थिए । स्केच बनाएर क्रस गर्न फिल्म हेरेर सिकेको र आफूले पूर्वयोजना अनुरूप स्केच बनाएको जवाफ उनले प्रहरीलाई दिएका छन् ।
आत्महत्या गर्न कोठाबाट हिँडेका मिलन पहिलो प्रयास असफल भएपछि प्रहरी वृत्त महाराजगञ्जमा आत्मसमर्पण गर्न पुगेका थिए।