११ पुस, काठमाडौं । सरकारले लिपुलेकबारे भारत र चीनबीचको सहमतिले नेपाललाई कुनै प्रभाव नपार्ने प्रतिक्रिया दिएको छ ।
बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले लिपुलेकको सन्दर्भमा भारत र चीनबीच भएको सहमति नेपाललाई प्रभाव पार्ने ढंगले नभएको निष्कर्ष मन्त्रिपरिषद्ले निकालेको प्रतिक्रिया दिएका हुन् ।
प्रवक्ता गुरुङले यो विषय दुईदेशबीच पहिलेदेखिकै प्राविधिक कुरा भएको बताउदै सो सहमतिका कारण नेपालले कुनै चिन्ता लिनुनपर्ने बताए ।
भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चिनियाँ विदेशमन्त्री वाङ यीबिच डिसेम्बर १८ मा चीनको बेइजिङमा भएको छलफलमा भारतबाट कैलाश मनोसरोवार यात्रा फेरि सुरुवात गर्ने सहमति भएको थियो । नेपालको भूमिबारे नेपाललाई नै थाहा नदिई दुई देशले गरेको सहमतिबारे नेपालमा पनि विभिन्न प्रश्न उठ्न थालेका छन् ।
भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेअनुसार कोरोना महामारीका कारण सन् २०२० देखि रोकिएको कैलाश-मानसरोवर तीर्थयात्रु आवागमनलाई पुनः निरन्तरता दिने सहमति दुई देशबीच भएको उल्लेख छ ।