|  

सरकारी प्रयोजनका लागि नेपाली उत्पादन मात्रै खरिद गर्ने मन्त्री भण्डारीकाे भनाई

१२ पौष, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अबदेखि सरकारी प्रयोजनका लागि नेपाली उत्पादन मात्रै खरिद गर्ने बताएका छन् ।

उद्योगी व्यवसायीहरूसँगको छलफलमा मन्त्री भण्डारीले यस्तो बताएका हुन् । मन्त्री भण्डारीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका, २०८१ संघदेखि स्थानीय तहसम्मै कार्यान्वयन गर्नेगरी सरकार अघि बढेको बताए । उनले सरकारले उद्योगी र उत्पादकहरूको श्रमप्रतिको सम्मान गर्ने गरी काम गरिरहेको पनि बताए । उनले सरकारी निकायमा नेपाली सामग्रीहरू नै खरिद गर्न निर्देशन दिइसकेको उल्लेख गर्दै मन्त्रालय निर्देशिका कार्यान्वयन गर्न लाग्ने बताए । 

स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यका साथ उक्त निर्देशिका जारी गरेको मन्त्री भण्डारीले बताए । मन्त्री भण्डारीले नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी, सांसदहरूले पनि नेपाली पोशाकको प्रयोग गर्ने बताए । तर, पोशाक गुणस्तर र मागअनुसार प्राप्त हुनेगरी उत्पादन गर्नुपर्नेमा उनको जोड छ । अन्तरक्रियामा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले सरकारी मात्रै नभई निजी क्षेत्रमा समेत स्वदेशीवस्तुको प्रयोग अनिवार्य गर्न आग्रह गरेका छन् ।