१२ पौष, काठमाडौं । समयसमयमा डक्टरको लापरबाहीको कारण बिरामीको ज्यान जाने गरेको वा खासै ठूलो रोग नलागेको बिरामी पनि सिकिस्त हुने गरेको समाचार आउने गर्छन् ।
भारतको उत्तर प्रदेश राज्यको सुल्तानपुरस्थित एउटा अस्पतालमा पनि यस्तै एक घटना घटेको छ । बिहीबार भुइँलादेवी नाम गरेकी महिला बायाँ खुट्टा भाँचिएपछि उपचारका लागि पुगेकी थिइन् । चिकित्सकले आवश्यक परीक्षणपछि अप्रेसनको तयारी गरे । अप्रेसनपछि महिलालाई बाहिर ल्याउँदा परिवारजन भने आश्चर्यचकित भए ।
किनकि बायाँ खुट्टा भाँचिएर अस्पताल ल्याइएकी भुइँलादेवीको दायाँ खुट्टाको अप्रेसन गरिएको थियो । परिवारजनले यसबारे सोधपुछ गर्न थालेपछि भुइँलादेवीलाई फेरि अप्रेसनका लागि लगिएको र बायाँ खुट्टाको अप्रेसन गरिएको बताइएको छ ।
भुइँलादेवीको अप्रेसन गर्ने चिकित्सक पीके पाण्डेय सम्पर्कविहीन रहेको स्रोतले जनाएको छ । अस्पताल प्रशासनले भने चिकित्सकको लापर्बाही नभएको तर्क गरेको छ ।