|  

रविको बयान सकियो

१२ पौष, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जिल्ला अदालत कास्कीमा आज बयान सकिएको छ । 

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा आरोप लागेका उनको हिजोबाट सुरु भएको बयान आज सकिएको हो । लामिछानेको बयान सकिएसँगै इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुनेछ । उक्त सहकारी ठगी मुद्दामा लामिछाने, छविलाल जोशी, लीला पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो । 

सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाएको छ । गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा समेत मुद्दा चलाइएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाइविरुद्ध सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।