१२ पौष, काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय निजामती सेवासम्बन्धी विधेयकलाई अघि बढाउन सरकारले ढिला गर्न खोजेको आरोप लगाएको छ ।
सिंहदरबारमा आज बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधनकर्तासँगको छलफलका क्रममा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले यस्तो आरोप लगाएका हुन् । उनले विधेयकको छलफलका क्रममा सामान्य प्रशासन मन्त्री उपस्थित नहुनुले सरकारले नै उक्त विधेयकलाई ढिला गर्न खोजेको महसुस भएको बताए ।
उनले संघीय निजामती सेवासम्बन्धी विधेयक अघि नबढ्दा प्रदेश र स्थानीय सरकारले सहज ढंगले काम गर्न नसकेकाले गम्भीर हुन आग्रह गरेका छन् । विधेयकलाई छिटो अघि बढाउनका लागि पटक(पटक समितिलाई आग्रह गर्दा कुनै समितिले पनि कुनै ध्यान नै नदिएकोमा असन्तुष्टि ब्यक्त गरे ।