|  

जसले आर्थिक संकटबाट भारतलाई जोगाए

१३ पौष, काठमाडौं । पीभी नरसिंह राव सन १९९१ मा भारतको प्रधानमन्त्री बने लगत्तै मुलुकको आर्थिक स्थिति ज्यादै खराब रहेको प्रतिवेदन बुझाइएको थियो । राव अर्थ व्यवस्थामा सुधार गर्न सक्ने वित्त (अर्थ) मन्त्रीको खोजीमा लागे । त्यस क्रममा उनको नजरमा परे भारतीय रिजर्ब बैंकका पूर्वगभर्नर मनमोहन सिंह ।

उनी ख्यातिप्राप्त अर्थशास्त्री थिए । देशको आर्थिक स्थिति गम्भीर रहेको तर्फ ध्यानकर्षण गराउँदै रावले उनलाई वित्तमन्त्रीको जिम्मेवारी सम्हाल्न आग्रह गरे । अर्थमन्त्री भएपछि सिंहले आर्थिक उदारीकरण, निजीकरण र विश्व व्यापारमा जोडिने विभिन्न महत्त्वपूर्ण नीति ल्याए । वैदेशिक लगानी भित्र्याउन नीतिहरूमा सुधार गरे । त्यसले मुलुकको अर्थतन्त्रलाई गति थियो । सन् २००४ मा सिंह आफैं प्रधानमन्त्री भए । त्यति बेला पनि वैश्विक आर्थिक मन्दीको असर र महँगीको मार भारतले झेल्दै थियो । त्यो परिस्थितिलाई किनारा लगाउन पनि उनले कुशल भूमिका निर्वाह गरे । दोस्रो कार्यकालका लागि समेत प्रधानमन्त्री निर्वाचित भएर सिंह सन् २०१४ सम्म पदमा रहे । सिंह भारतमा आर्थिक उदारीकरण ल्याउने व्यक्तिका रूपमा चिनिन्छन् ।

उनै सिंहको बिहीबार ९२ वर्षका उमेरमा निधन भयो । वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक आनन्द के सहाय सिंहको नेतृत्वमा भारतले प्रत्येक वर्ष ८ प्रतिशतका दरले आर्थिक प्रगति गरेको बताउँछन । ‘लोकतान्त्रिक विश्वमा त्यो ठूलो उपलब्धि मानिएको थियो,’ उनले भने, ‘उनको आर्थिक उदारीकरण नीतिमा कतिपय कमजोरी रहे पनि त्यसले राष्ट्रको आम्दानी बढाउने महत्त्वपूर्ण काम गरेको थियो ।’ आम्दानीको वितरण हरेक मानिससम्म पुग्न नसकेको भन्दै समाजवादी र क्रान्तिकारी विचारधाराका मानिसले प्रश्न उठाए पनि उनकै कार्यकालमा सवा करोड भारतीय गरिबीको रेखामाथि उठ्न सकेको उनले सुनाए । 

पदमा रहँदा वा नरहँदा सिंहको व्यक्तिगत छवि सधैं स्वच्छ मानिएको थियो । ‘उनी सबै तहतप्काका व्यक्तिसँग विनम्रतापूर्वक प्रस्तुत हुने, कुरा सुन्ने गर्थे । सादा कपडा लाउने, सादा जीवन अपनाउने उनको शैली थियो,’ सहायले भने, ‘विरोधीको कुरा सुन्ने, विरोधीसँग कहिल्यै बदला लिन नखोज्ने स्वभाव थियो, अभिव्यक्ति स्वतन्त्रताका सधैं पक्षधर थिए उनी ।’

सन् २००४ मा कंग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) ले बहुमत ल्याएको थियो । बहुमतका लागि २ सय ७२ सिट चाहिएकामा कांग्रेस एक्लैको सिट १ सय ४५ वटा मात्र थियो । यूपीए गठबन्धनकी नेता थिइन् सोनिया गान्धी । तर गान्धीको पृष्ठभूमिलाई लिएर विपक्षी दलहरूले तीव्र आलोचना गरे । गान्धीले आफूलाई आएको प्रधानमन्त्रीको अवसर सिंहतर्फ सारिदिइन् । त्यसकारण सिंह ‘एक्सिडेन्टल प्राइमनिस्टर’ का रूपमा पनि प्रचारित भए । नम्र स्वभावका कारण विपक्षीले सिंहलाई कमजोर प्रधानमन्त्रीका रूपमा समेत आलोचना गरे । उनी प्रधानमन्त्रको कुर्सीमा भए पनि सबै निर्णय सोनिया गान्धीबाट हुने भनी टीकाटिप्पणी पनि हुने गरेको थियो ।

सिंह जनताबाट प्रत्यक्ष कहिल्यै चुनिएनन । सन १९९९ र २००४ मा लोकसभा चुनावमा प्रतिस्पर्धा गरे पनि उनले हार व्यहोरेका थिए । कंग्रेसले उनलाई राज्यसभामा पठाएको थियो । राज्यसभा सदस्यकै रूपमा उनले प्रधानमन्त्री चलाए । यूपीए गठबन्धनमा रहेका कम्युनिस्टदेखि त्यसविपरीत विचारधारासम्मका १४ दललाई समन्वय गरेर सिंह १० वर्ष प्रधानमन्त्री भएका थिए । भारतका प्रधानमन्त्रीहरूबारे पुस्तक लेखेका वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेक रसिद किदवई गठबन्धनकै बलमा प्रधानमन्त्री चलाएर पनि उनले आफूलाई सफल बनाउन सकेको बताए । ‘सबैलाई समन्वय गरेर नेतृत्व गर्न सक्नु उनको विशेषता थियो । त्यसकारण उनी सबैको गुड बुकमा थिए,’ उनले भने, ‘पार्टीभित्र वा बाहिरका विपक्षीबाट जतिसुकै आक्रमण भए पनि उनले कहिल्यै त्यसविरुद्ध मोर्चा खोलेनन् ।’

सिंह सधैं सबैको सहमित र सल्लाहमा काम गर्न रुचाउँथे । ‘उनले कहिल्यै छुट्टी लिएनन् । १२/१४ घण्टा काम गर्थे । आफ्नो कामको बखान पनि कहिल्यै गरेनन्,’ किदवईले सुनाए, ‘उनको नीति र नियतमा शंका गर्ने कुनै ठाउँ थिएन ।’ उनका अनुसार देशको आर्थिक प्रगतिमा सिंहले गरेको काम सधैं स्मरणीय रहनेछ, गरिब, दलित र पिछडा वर्गको उत्थानका लागि उनले गरेको योगदान पनि उतिकै महत्त्वपूर्ण छ । गरिब र दलितलाई बैंक खातामै पैसा पठाउने योजना उनले नै ल्याएका थिए । उनको कार्यकालमा अमेरिकासँग भएको परमाणु सम्झौतालाई ठूलो उपलब्धि मानिएको थियो । सिंहको दोस्रो कार्यकालमा भ्रष्टाचार बढेको भन्दै व्यापक विरोध भएको थियो । उनी भने इतिहासले आफ्नो मूल्यांकन गर्ने अभिव्यक्ति दिन्थे । सन् २०१४ मा एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘मलाई पूरा विश्वास छ, मिडिया र संसद्मा रहेका विपक्षी पार्टीको तुलनामा इतिहास मप्रति बढी दयालु हुनेछ ।’ अहिले किदवई भन्छन्, ‘उनको निधनमा विश्वभरिबाट शोक व्यक्त भइरहेको छ । २४ घण्टाभित्रै देशभित्र र बाहिरबाट व्यक्त भएको सम्मानमा पनि उनको मूल्यांकन झल्किएको छ ।’

सिंह प्रधानमन्त्री रहेका बेला नेपालमा शान्ति प्रक्रियाको प्रारम्भ भएको थियो । भारतको राजधानी नयाँदिल्लीमा नेपालका प्रमुख राजनीतिक दल र विद्रोही माओवादीबीच १२ बुँदे सहमति भएको थियो । त्यही सम्झौतापछि तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनविरुद्ध जनआन्दोलन गर्ने वातावरण बनेको थियो । सिंहको निधनमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल र बाबुराम भट्टराईले दुःख प्रकट गरेका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले सिंहलाई विश्वका मूर्धन्य अर्थशास्त्री र विनयशील मानवका रूपमा सम्झिएका छन । उनले समाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘उहाँसँग भेट्दा शान्ति र गम्भीर मुद्रामा विश्व र नेपाल-भारत द्विपक्षीय आर्थिक विकास साझेदारीका विषयमा गहन विमर्श हुने गरेको म कहिल्यै बिर्सन्नँ ।’

दिल्लीस्थित भारतीय राष्ट्रिय कंग्रेसको मुख्यालयबाट सिंहको अन्तिम यात्रा निकाल्ने तयारी छ । शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहसहितका नेताले सिंहको निवासमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । सिंहको जन्म १९३२ सेप्टेम्बर २६ मा अविभाजित भारतको पञ्जाब राज्यमा भएको थियो । अहिले उक्त भाग पाकिस्तानमा छ ।