१३ पौष, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको कारण आज दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बेलुकासम्म काठमाडौंसहित देशका धेरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हिउँदे वर्षा सुरु भएको छ । सुदूरपश्चिम र कर्णालीका केही ठाउँमा रातिदेखि हल्का वर्षा भएको हो । अहिले पनि पश्चिमका केही स्थानमा हल्का पानी परिरहेको महाशाखाले जनाएको छ ।
यस्तै, पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । दिउँसो सुदूरपश्चिम र कर्णालीसहित लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, बागमती, मधेस र कोशीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार भोलिदेखि भने मौसममा सुधार हुनेछ ।