|  

विकिपिडियाले आफनो नाम परिवर्तन गरे मस्कले १ अर्ब डलर दिने !

१३ पौष, काठमाडौं ।  विकिपिडियाले आफ्नो नाम परिवर्तन गरे एलन मस्कले एक अर्ब डलर दिने भएका छन् ।

अक्टोबर २०२३ मा विकिपिडियाप्रति आक्रोश पोख्दै मस्कले यस्तो प्रस्ताव राखेका थिए । एक्सको एक पोस्टमा रिप्लाई गर्दै मस्कले अहिले पनि सो प्रस्ताव खुला रहेको बताएका छन् ।‘डज डिजाइनर’ नामको एक्स ह्यान्डलले मस्कले विकिपिडियाको नाम परिवर्तन गर्ने प्रस्ताव राखेको पोस्ट अपलोड गरेको थियो ।

त्यसैमा रिप्लाई गर्दै मस्कले उक्त प्रस्ताव सत्य भएको र अहिले पनि खुला भएको लेखेका छन् ।विश्वचर्चित इन्साइक्लोपेडिया विकिपिडियाको नाम परिवर्तन गरेर ‘डिकिपिडिया’ (पुरुष यौनाङ्ग प्रत्ययका रूपमा जोडिएको नाम)राख्न मस्कले प्रस्ताव गरेका थिए । विशेषगरी विकिपिडियाको आर्थिक प्राथमिकता र राजनीतिक झुकावलाई लक्षित गर्दै मस्कले मोटो रकम उपलब्ध गराउने जनाएका थिए ।

त्यसपछि उनले विकिमिडिया फाउन्डेसनलाई नाम परिवर्तन गर्न सहमत भएमा एक अर्ब डलर दान दिने प्रस्ताव गरेका थिए । यो प्रस्ताव हास्यास्पद भए पनि मस्कको टिप्पणीले विकिपिडियाको आर्थिक प्राथमिकतालाई झल्काएको थियो ।  मस्कले ठूला संस्था विशेषगरी विकिमिडिया फाउन्डेसनजस्ता गैरनाफामूलक संस्थाले पैसा कसरी खर्च गर्छन् भन्ने विषयमा लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएका छन् । विकिपिडिया सञ्चालनको मुख्य उद्देश्यभन्दा बाहिरका काममा स्रोत खेर फालिएको मस्कको आशंका छ ।