|  

एउटै दम्पतीको ४३ वर्षमा १२ पटक डिभोर्स

१३ पौष, काठमाडौं । अष्ट्रियामा सम्बन्ध विच्छेद गर्ने दम्पतीलाई सरकारले दिने रकमको लोभमा एउटा दम्पतीले एक आपसमा १२ पटक सम्बन्ध विच्छेद गरेका छन् ।

ग्राज सहरमा बस्ने उक्त दम्पतीले दाम्पत्य जिवनको ४३ वर्षभित्र १२ पटक कानूनी डिभोर्स गरेका हुन् ।भियना प्रहरीले अहिले यो अनौठो घटनाको अनुसन्धान गरिरहेको छ । विधवा महिलालाई सरकारी दिने जिवन निर्वाह भत्ता अर्थात् एकल महिला पेन्सन बापतको वार्षिक करिब ३० हजार युरो पाउनका लागि उक्त दम्पतीले एक आपसमा श्रृंखलाबद्ध डिभोर्स गरेको हो ।पहिलो पतिको सन् १९८१ मा मृत्यु भएपछि ती महिलाले उक्त भत्ता पाउन थालेकी थिइन् ।

पहिलो पतिको मृत्यु भएको अर्को वर्ष नै दोस्रो बिहे गरेता पनि विधवाको रुपमा पाउने पेन्सलाई खाइराख्नका लागि उनले त्यसयता लगालग दोस्रो पतिसँग १२ पटक डिभोर्स गरेकी छन् ।अष्ट्रियन कानून अनुसार विधवा महिलाले दोस्रो बिहे नगरेसम्म उक्त जिवन निर्वाह भत्ता प्रयोग गर्न पाउँछिन् ।

साथै उनले हरेक अढाई वर्षमा आफ्नो वार्षिक विधवा पेन्सनको साढे दुईगुणा रकम पाउने गर्थिन् । त्यसले उनको दोस्रो पतिसँग उनले प्रत्येक तीन वर्षमा कागजी डिभोर्स गर्ने गरेको खुलासा भएको छ । उक्त पेन्सन रकम हात पारेपछि भने उनीहरुले पुनः बिहे गर्थे।

खुसीको कुरा, उनीहरुको १२औं डिभोर्स चाहिं अष्ट्रियाको सरकारी निकायले मान्यता दिएन । त्यसैले उनीहरु दुवै जनालाई सँगै उक्त मुद्दा चल्नेछ। महिलाको उमेर अहिले ७३ वर्षको छ ।