|  

भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि

१३ पौष, काठमाडौं । पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार दिल्लीको कश्मिरी गेटस्थित निगमबोध घाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

उनको अन्त्येष्टि परिवार, साथीभाइ, सहकर्मी र सरकारी विशिष्ट व्यक्तिको उपस्थितिमा भएको थियो । शिख रीतिरिवाजअनुसार सिंहको अन्त्येष्टि गरिएको हो । 

राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंहले उनको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सिंह लामो समय भारतीय राजनीतिमा सक्रिय थिए । विशेष गरी आर्थिक संकटको समयमा स्थिर नेतृत्व र भारतको अर्थव्यवस्थाको आधुनिकीकरणमा योगदानका निम्ति उनलाई सम्झना गरिन्छ ।