१४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक भएको बताएका छन् ।
नेकपा (एमाले)को पर्सा जिल्ला कमिटीले आइतबार सखुवा प्रसौँनीमा आयोजना गरेको पार्टी प्रवेश र जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अहिलेको सरकार देशको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तनका लागि कटिबद्ध रहेको बताए ।
'हामी क्रान्तिकारी हौँ । क्रान्तिमा लाग्नु भनेको तोडफोड र जुलुस गर्नु होइन, अब जीवनमा परिवर्तन ल्याउने क्रान्ति गर्न आवश्यक छ । मधेशका मसिया भन्ने पार्टीका नेताहरूले विकास निर्माणमा नभई संविधानका धाराको राजनीतिमा जनतालाई अलमल्याउने काम गरे । हामी त्यस्तो गर्दैनौँ । मान्छेलाई अधिकारसहित सम्पन्न बनाउन उत्पादन र उद्यमशीलतालाई हामीले महत्व दिएका छौँ । यो सरकारले समृद्धि र सुशासनका लागि काम गर्नेमा ढुक्क हुनुहोस् ।'
प्रधानमन्त्री ओलीले हुलाकी राजमार्गमा १३ आधुनिक शहर निर्माण, सुनकोसी मरिन डाइभर्सन, उद्यमशीलता, कृषि उत्पादन र आय बढाउने जस्ता काममा विगतमा आफू सरकारमा हुँदा महत्व दिएको र अब पुनः ती कामले गति लिने बताए ।
उनले स्थानीयबासीको मागबमोजिम पर्साको पोखरियाको नगर अस्पताललाई स्तरोन्नती गरिएको र नापी तथा मालपोत कार्यालयको सेवा केन्द्र स्थापना गरिएको बताउँदै चाँडै इलाका प्रशासन कार्यालय स्थापना गरिने विश्वास दिलाए ।