|  

गिरीबन्धुमा ओलीको बदमासीको पर्दाफास गरेरै छोड्छु : अध्यक्ष प्रचण्ड 

१५ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टि-स्टेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले बदमासी पर्दाफास गरेरै छोड्ने बताएका छन् । 

आज प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा ५ को गौरीगञ्ज गाउँपालिका वडा नं ३ मा नेकपा (माओवादी केन्द्र) को दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओली देशकै सबैभन्दा जाली, झेली, कपटी, बेइमानी भएको बताए ।

उनले ओलीमाथि आफूले गिरीबन्धु टि स्टेटको भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्न शुरु गरेसँगै र नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेसँगै सरकार ढालिएको बताए । उनले आफूलाई प्रधानमन्त्रीबाट अलोकतान्त्रिक, तानाशाही प्रवृत्तिले हटाइएको बताए । ओली र शेरबहादुर देउवामाथि अनुसन्धान गर्न लागेसँगै आफूलाई प्रधानमन्त्रीबाट हटाइएको आरोप लगाएका छन् ।
 
उनले भने, ‘म तपाईंहरुलाई भन्न चाहन्छु, आज यो ठाउँ, सम्भवतः यो ठाउँ अहिलेको प्रधानमन्त्री देशको सबैभन्दा बढी जाली, झेली, कपटी, बेइमानी मेरो लागि त यत्ति धेरै जाली, यति धेरै झेली मान्छे, उनको ठाउँमा सायद म बोल्दै छु । म भन्न चाहन्छु, उनको दिमागमा जालझेल बाहेक अरू भएको देखिँदैन । उनले जालझेल नै गरिराख्नु हुन्छ । तर म गिरीबन्धु टि-स्टेटमा उनले गरेको बदमासीलाई पर्दाफास गरेरै छोड्नेछु । 

गिरीबन्धुको, ओम्नीको, वाइडबडीका तमाम समस्या छन् । मलाई प्रधानमन्त्रीबाट अलोकतान्त्रिक, तानाशाही प्रवृत्तिले हटाइएको छ । किनभने भ्रष्टाचारीमाथि कारबाही गर्ने भयो भनेर नै हो । मेरो सुई अब गिरीबन्धुतिर जाँदै थियो । गिरीबन्धुतिर भनेको ओलीतिर जाने भनेको हो । बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर जाँदै थियो । त्यसपछि एउटा आतङ्क भएको हो । मैले सदनमा पनि भनेको छु, तपाईँहरूको अगाडि पनि भन्न चाहन्छु, चुनौतीका साथ कुनै पनि हालतमा नेपाली जनताले रगत र पसिना बगाएर प्राप्त गरेका उपलब्धि खोस्न दिइने छैन । त्यसलाई हर हालतमा बचाइनेछ ।’