१५ पौष, काठमाडौं । विद्यार्थी संगठनमा उमेर हद लागू गर्ने निर्णयको नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले स्वागत गरेका छन् ।
संगठनमा ३२ वर्षे उमेर हद लगाउनुपर्ने घोषणा भएको छ । उक्त घोषणापछि शर्माले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै एजेन्डासहित पार्टी निर्माण गर्दै सक्षम र सुदृढ पार्टी नयाँ पुस्तामा हस्तान्तरण एक मात्र उद्देश्य भएको बताउँदै विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदमलाई स्वागत गरेको बताएका हुन् । उनले यो निर्णयले झन्डै ४० लाख मतदाताको मनोविज्ञानलाई समेटेको पनि तर्क गरेका छन ।
उनले लेखेका छन,‘ पार्टी निर्माण गर्ने बाटो आफै जोखिमपूर्ण छ, तर इमानदार प्रयत्न, विधि पद्धति र विचारको स्पष्टता सहित लागेमा यो सम्भव छ। पार्टी सुधारको लागि गरिने प्रयत्न न फुट, विभाजनको लागि हो न त सत्ता प्राप्तिको लागि । बरु इमानदारी साथ भन्न चाहन्छु, म नियमित राजकीय जिम्मेवारीमा गएर पार्टी निर्माण गर्ने कार्य कमजोर बनाउने छैन। एजेन्डा सहित पार्टी निर्माण गर्दै सक्षम र सुदृढ पार्टी नयाँ पुस्तामा हस्तान्तरण एक मात्र उद्देश्य हो । विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदम हो । यसले झन्डै चालीस लाख मतदाताको मनोविज्ञानलाई समेट्ने छ ।’