|  

अबको ३० वर्षमा मानवता समाप्त हुने वैज्ञानिक हिन्टनको विश्लेषण

१६ पुस, काठमाडौं ।  एआई गडफादरको उपनामले चिनिने ब्रिटिश–क्यानडेली कम्प्युटर वैज्ञानिक प्रोफेसर ज्योफ्रे हिन्टनले एआईका कारण मानवता पूर्ण रूपमा हराएर जाने सम्भावना उच्च हुँदै गएको दाबी गरेका छन् ।

वैज्ञानिक हिन्टनले अबको ३० वर्षमा एआईका कारण मानवता पूर्ण रूपमा हराएर जाने सम्भावना उच्च हुँदै गएको दाबी गरेका हुन् । प्रविधि क्षेत्र अपेक्षाभन्दा ‘धेरै छिटो’ परिवर्तन भइरहेको परिप्रेक्ष्यमा त्यसले मानवता नै सङ्कटमा पार्ने जोखिम बढाएको भन्दै उनले चेतावनी दिएका छन् ।

वैज्ञानिक हिन्टनका अनुसार आगामी तीन दशकभित्र एआईले मानव सभ्यता समाप्त पार्ने सम्भावनालाई अझ नजिक ल्याएको छ ।हिन्टनले एआईका कारण मानवता लोप हुने सम्भावना १० देखि २० प्रतिशतसम्म बढेको तर्क अघि सारेका छन् । यसअघि उनले एआई प्रविधिले मानवताका लागि विनाशकारी परिणाम निम्त्याउने सम्भावना १० प्रतिशत रहेको विश्लेषण गरेका थिए । बीबीसी रेडियो फोरको ‘टुडे कार्यक्रम’मा एआई सङ्कटको सम्भावनाबारे सोधिएको प्रश्नमा हिन्टनले यस्तो भविष्यवाणी गरेका हुन् ।

त्यस क्रममा टुडे कार्यक्रमका पाहुना सम्पादक तथा पूर्व चान्सलर साजिद जाविदले “तपाईँको अनुमान बढ्दैछ” भनेपछि हिन्टनले जवाफ दिए, “यदि सोच्यौँ भने हामीले आफूभन्दा बढी बुद्धिमान चिजसँग कहिल्यै सामना गर्नुपरेको छैन ।”उनले अगाडि थपे, “कम बौद्धिक चिजले उच्च बौद्धिक चिजलाई नियन्त्रण गरेका कति उदाहरणहरू छन्, तपाईँलाई थाहा छ ?यस्ता केही उदाहरण होलान् । त्यसमध्ये मलाई थाहा भएको एउटै उदाहरण हो, आमा र बच्चाको सम्बन्ध । जहाँ बच्चाले आमालाई केही हदसम्म नियन्त्रण गर्न सक्छ ।”