१६ पुस, काठमाडौं । विश्वकै दुर्लभ सेतो गिद्ध भारतको अयोध्या पुगेर फेरि पोखरा फर्किएको छ । ‘स्याटेलाइट ट्याग’ लगाइएको गिद्ध अयोध्याको घाघरा नदीछेउ ३ दिन बसेर पोखरा फर्किएको हो ।
गत असोज २ मा पाँच वटा गिद्धमा ‘स्याटेलाइट ट्याग’ लगाइएको थियो । पोखराको लामीआल र दोबिल्ला डम्पिङ साइडमा सेतो गिद्धलाई समातेर ‘ट्याग’ लगाइएको थियो । तीन वटा वयस्क (४ देखि ५ वर्ष), एउटा अल्पवयस्क (३ वर्ष) र एउटा बच्चा (२ वर्ष) को गिद्धलाई ‘ट्याग’ लगाइएको थियो ।
यिनैमध्येको एउटा वयस्क गिद्ध कात्तिक १४ मा पोखराबाट करिब २५० किमि उडेर अयोध्या पुगेको थियो । गिद्ध पहिलो दिनमै पोखराबाट रूपन्देहीको गैडहवा तालनजिक गिद्ध रेस्टुरेन्ट पुगेको थियो । अर्को दिन लुम्बिनी आसपास बस्यो । तेस्रो दिन भारतको बलरामपुरनजिक ५ दिन बसेको थियो । त्यसपछि अयोध्याको घाँघरा नदी आसपास ३ दिन बसेर पोखरा फर्किएको हो ।
पोखरा आउने क्रममा अयोध्याबाट बिहानै उडेको गिद्ध कपिलवस्तुको राजापानी सामुदायिक वनमा बास बसेको र अर्को दिन स्याङ्जाको पुतली बजार बसेर तेस्रो दिन पोखरा आइपुगेको थियो ।
नेपालका सेतो गिद्धबारे अनुसन्धान गरिरहेका विज्ञ कृष्णप्रसाद भुसालले गिद्ध आहाराको खोजीमा जाने दूरी, प्रजनन गर्ने स्थान र बसाइँसराइको अवस्था तथा चुनौतीबारे पत्ता लगाउन ‘ट्याग’ लगाइएको बताए । दुई लाख मूल्य पर्ने स्याटेलाइट ट्याग ३० ग्रामको हुन्छ । स्याटेलाइट सम्पर्कबाट दुई-दुई घण्टामा तथ्यांक आउँछ । कुन दिशातिर कति उचाइ र गतिमा उडिरहेको भन्ने सबै तथ्यांक यसबाट पाइन्छ ।