१७ पौष, काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन २०२५ आरम्भ भएको छ ।
नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन । ग्रेगोरियन पात्रोअनुसार सन २०२४ को बिदाइ र नयाँ वर्ष सन् २०२५ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।
इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंका ठमेल, बौद्ध, न्यूरोड लगायत स्थानमा मंगलबार बेलुकी नै ‘न्यू इयर इभ’ को रुपमा विशेष चहलपहल देखिएको थियो । विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन ।
यसैवीच, आज नेपालीहरुले टोपी दिवस पनि मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डरको १ जनवरी मा विश्वव्यापी रूपमा नेपाली जनताले ढाका वा भाद-गौले टोपी लगाएर मनाउने गरेका हुन् । आज अधिकांश नेपालीले ढाका टोपी र भादगौले टोपी लगाउँछन ।