१७ पाैष, काठमाडाैं । नेपाली समुदायले हरेक अंग्रेजी वर्षको जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाउने गर्न थालेका छन् ।
नेपाली समुदायले जनवरी १ मा यो दिवस मनाउन थालेको मात्र ११ वर्ष पुरा भएको छ । केही युवाहरुको आह्वानमा सन २०१४ देखि यो दिवस मनाउन सुरु गरिएको थियो । तर पछिल्लो समय हरेक वर्ष ईस्वी संवतको नयाँ वर्षका दिन नेपालीहरुले स्वदेश तथा विदेशमा यो दिवस हर्सोउल्लासका साथ मनाउने गर्दछन् । नेपालीहरुले आफ्नो जाती अनुसारको पोशाक लगाएर समेत यो दिवस मनाउन थालेका छन् । नेपाली टोपी र नेपाली पोसाकको प्रवद्र्धन गर्ने उद्देश्यसहित थालिएको यो दिवसबारे आज हामी चर्चा गर्दैछौ ।
मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले १० वर्ष अघिदेखि टोपी दिवस मनाउने अभियान सुरु गरेका थिए । सन २०१३ नोभेम्बर २६ मा डा.लेखनाथ काफ्ले र शंकर बन्जाडेले सामाजिक संजाल फेसबुकमा एक सार्वजनिक पेज स्थापना गरे । उनीहरुले पहिलोपटक सार्वजनिक रूपमा जनवरी १ लाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस र नेपाली टोपी लगाउने दिवस भनि सबैलाई नेपाली टोपी लगाउन आह्वान गरे । उनीहरुकै आह्वानमा सन २०१४ देखि अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष जनवरी १ तारिख पारेर नेपालमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन सुरु गरियो । त्यस वर्षदेखि हरेक वर्ष नेपाली समुदायले जनवरी १ मा “नेपाली टोपीः नेपालीको शान, मान र पहिचान” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आएका छन् ।
सिमित युवाहरुबाट सुरु गरिएको यो अभियानमा हरेक वर्ष जनवरी १ मा विश्वव्यापीरूपमा जनसहभागिता सहित सञ्चार माध्यमहरूमा चर्चा हुने गर्दछ । बिगत केहि वर्ष देखि स्वस्फूर्तरूपमा जागरुक युवा अभियान नेपाल लगायत विभिन्न समुह, संस्थाहरूले देश तथा बिदेशमा नेपाली टोपी दिवसको प्रचारप्रसार सहित विविध कार्यक्रम सहित मनाएर यसलाई झनै व्यापक बनाइरहेका छन् । यस दिवसले अन्तराष्ट्रिय रूपमा नेपालीपनको प्रबद्र्धन गर्नुका साथै देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबद्र्धन र सम्बद्र्धन गर्न मद्दत पुगिरहेको छ । किनभने नेपाली टोपी नेपाली र नेपालीमूलका नागरिक भएका सबै स्थानहरूमा समग्र नेपालीहरूको साझा र मौलिक पहिचानको चिह्न पनि हो ।
नेपालमा धेरै प्रकारका टोपी प्रयोग भए पनि भादगाउँले, ढाका टोपी मुख्य हुन । त्यसबाहेक विभिन्न जात(जातिको आफ्नै जातिको पहिचान झल्काउने टोपी पनि छन । अन्तराष्ट्रिय नेपाली टोपी दिवसमा आफ्नो आफ्नो क्षेत्र, जाति, जनजातिले आफ्नै टोपी वा आआफ्नो मौलिक शिरपोश लगाएर मनाउन आह्वान गर्दै आफ्नो संस्कृतिको संरक्षणको भावना राखिएको हुन्छ । जनवरी १ का दिन आ(आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगाई, फोटो खिचेर आआफ्नो सामाजिक संजालमा शेयर गर्ने पनि गरिन्छ । यो अभियानको मूल उद्देश्य “नेपाली र गोर्खाली हुनुमा गर्व गरौँ । नेपालीपनलाई संरक्षण, प्रवद्र्धन र विस्तार गरौँ “ भन्ने रहेको छ ।
अभियानका रूपमा सुरु भएको टोपी दिवसले सामाजिक सञ्जालका कारण व्यापकता पाउदै गएपनि यस दिवसका पक्ष-विपक्षमा बहस गर्नेहरु पनि उत्तिकै छन् । ढाका टोपीलाई एकल जातीय अर्थात क्षेत्री बाहुन र पहाडी समुदायको मात्रै पहिचानका रुपमा रहेको भन्दै आलोचना हुँदै आएको छ । कतिपयले भने टोपी लगाउदैमा राष्ट्रवादी हुने अनि नलगाउँदैमा नहुने भन्ने हुँदैन भन्ने पनि तर्क गरेका छन् । राष्ट्रवादी र राष्ट्रघाटी काम भनेको पोशाक र टोपीले होइन व्यक्तिको सोच र ब्यवहारले गर्ने हो । तर, यो दिवसले नेपालप्रतिको सम्मान बढाउनुका साथसाथै विश्व समुदायमाझ नेपालीपनको पहिचान भने पक्कै दिलाउँछ ।
नेपाली टोपी दिवस किन अंग्रेजी नयाँ वर्षमा मनाउन थालियो भन्ने धेरैको जिज्ञासा पनि हुने गरेको छ । जुन स्वभाविक पनि लाग्छ । पछिल्लो पुस्ताले आँखा चिम्लेर पश्चिमेली संस्कृतिको सिको गर्न थालेका छन । हामीले यो दिन टोपी दिवस नमनाए पनि न्यू इयर त पक्कै मनाउँछौँ नै । त्यसैले अंग्रेजी नयाँ वर्षलाई नेपालीपन दिनका लागि यो दिनमा नेपाली टोपी दिवस मनाउन थालिएको हो । यसको मतलव अंग्रेजी नयाँ वर्षको प्रवद्र्धन गर्न वा यसको विरोधमा नेपाली टोपी दिवस मनाउन थालिएको भने होइन ।
वितेको १० वर्षमा हेर्ने हो भने पनि जनवरी १ मा कहिल्यै टोपी नलगाउनेहरुले समेत नेपाली टोपीमा सजिएर ‘ह्याप्पी नेपाली टोपी डे’ भन्दै सोसल मिडियामा फोटो अप्लोड गर्न थालेका थुप्रै नेपालीहरु छन् । यदि यो दिन टोपी दिवस हुन्नथ्यो भने ‘ह्याप्पी न्यू इयर’ भन्दै घुमफिरका अरु नै कुनै फोटो अप्लोड हुन्थे होला सायद । यो अभियन्ताहरुका लागि मात्रै होइन समग्र नेपाल र नेपालीको गर्वको कुरा पनि हो । यसले एकातिर नयाँ पुस्तालाई नेपाली टोपी चिनाउने अवसर दिलाएको छ भने अर्कोतिर नेपाली पहिचानको जगेर्ना पनि भएको छ ।
त्यतिमात्र हैन, नेपाल आउने पर्यटकले नेपालको चिनोस्वरुप नेपाली टोपी किनेर लैजाने गरेका छन । नेपाली सामान निर्यात हुनु भनेको कुनै एउटा जाति र समुदायलाई मात्रै फाइदा हुने होइन । टोपी दिवससँगै टोपीको प्रवर्दधन पश्चात खस्किएको टोपीको व्यापार समेत उकालो लागेको समाचारहरु हरेक वर्ष सार्वजनिक भइरहेका छन ।
यति भनिरहँदा टोपीको इतिहासबारे पनि थोरै चर्चा गरीहालौँ । इतिहासमा बंगलादेशबाट कपडा आएको भए पनि अहिलेको ढाकाटोपी नेपालमा नै पहिलो पटक बनेको पढ्न पाइन्छ । भनिन्छ, टोपीको डिजाइन जंग बहादुर राणाकी बहिनी डम्बर कुमारीले गरेकी थिइन रे । उनले रिसाएका आफ्ना दाजुलाई फकाउन कलात्मक टोपी बनाएर लगाइदिएको बताइन्छ । टोपीको इतिहासको कुरा गर्दा यसको सम्बन्ध कैलाश पर्वतसँग पनि जोडिन्छ । इतिहासकारका अनुसार कवि मोतीराम भट्टले लगाए जस्तो कार्चोपी टोपी टर्कीबाट नेपाल भित्रिएको आंकलन छ । यो टोपी राणाकालमा सुब्बा वा सो भन्दा माथिल्लो दर्जाका अधिकारीले मात्रै लगाउन पाउँथे । कतिपयले भने मुसलमान समुदायको प्रवेशसँगै नेपाली टोपीको उदय भएको पनि बताउने गरेका छन् । कतिपयले भने उपत्यकाका नेवार समुदायले टोपी बनाउने धागो ‘धाका’ ढाका र ‘टोप्ली’ टोपीबाट ढाकाटोपी हुन पुगेको पनि बताउने गरेका छन । अतः नेपाली टोपीको साइ्नो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।
नेपाली समाजमा कतै टोपी लगाइदिएर त कतै आफ्नो टोपी फुकालेर एकअर्कालाई सम्मान गर्ने परम्परागत सांस्कृतिक चलन अझै पनि कायम छ । त्यसैले अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको अवसरमा हाम्रो तर्फबाट सम्पुर्ण नेपालीहरुलाई हार्दिक शुभकामना ।