|  

सूर्यदर्शन सहकारी ठगीमा थुनछेक बहस आज पनि जारी

१७ पौष, काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने, गोर्खा मिडियाकै पूर्वउपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीलगायत सात जनाको मुद्दामा हिजाेदेखि जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ ।

जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछाने, जोशीका साथै रामबहादुर खनाल, लीला पछाई, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङको बयान सकिएपछि थुनछेक बहस सुरु गरिएको हो । प्रतिवादीमध्ये आरती गुरुङको अन्तिम बयान हिजाे सकिएको थियो । त्यसपछि सातै जना प्रतिवादीका हकमा जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट बहस सुरु भएको हो । पहिलो दिन कार्यालयकी सहायक जिल्ला न्यायाधिवक्ताद्वय शान्तिदेवी शर्मा र सुजाता पौडेलले बहस गरे । उनीहरूले प्रहरीको अनुसन्धान प्रतिवेदन, पोखरा महानगरपालिकाको वित्तीय विश्लेषण प्रतिवेदन, संसदीय छानबिन विशेष समितिको प्रतिवेदनसमेतका आधार, कारण र प्रमाणबाट सातै जना प्रतिवादीलाई फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गर्नुपर्ने तर्क गरे ।

आज क्रमैसँग सरकारी वकिलको बहस हुने र त्यसपछि जाहेरवालाका तर्फका कानुन व्यवसायी र त्यसपछि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस गर्ने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । स्रेस्तेदार खनालका अनुसार महान्यायाधिवक्ताको कार्यालयबाट नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकाश गौतम, उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता विष्णुराज गौली, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले र सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारीले बहस गर्नेछन । थुनछेकमा लाग्ने समय प्रतिवादीले कति संख्यामा कानुन व्यवसायी राखेका छन भन्नेमा भर पर्छ,’ स्रेस्तेदार खनालले भने, ‘इजलासले पनि छिटो सक्ने गरी बहस व्यवस्थापन गर्न सक्छ । इजलासले कति समयसम्म त्यो बहसलाई सुन्छ, उही कुरा दोहोरिराख्यो भने इजलासले व्यवस्थित गर्ने ढंगले सोच्ला । यति नै दिनमा सकिन्छ भन्न सकिँदैन ।’
कास्की प्रहरीको हिरासतमा रहेका मध्ये लामिछाने, जोशी, पछाई र खनाललाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइएको छ भने मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङको हकमा सहकारी ठगीमा मात्रै अभियोग बुझाइएको छ ।