१७ पौष, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिको मुख्य सन्देश भनेको राजसंस्था र प्रजातान्त्रिक शक्तिबीच एकता र सहकार्य भएको बताएका छन् ।
बीपीको मेलमिलाप नीतिको अवसरमा नेपाली कांग्रेस (बीपी)द्वारा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् । नेपालमा राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिको निमित्त राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिहरू मिल्नुपर्छ भन्ने राष्ट्रिय मेलमिलापको मूल आत्मा भएको उनको भनाई छ ।
अहिलेको विषम परिस्थितिमा राष्ट्रिय मेलमिलापको आवश्यकता अझ टड्कारो भएको चर्चा गर्दै थापाले परिवर्तनकारी शक्ति र विचार एवं परम्परागत शक्ति र विचार बीचको सामञ्जस्यता राष्ट्रिय सुरक्षा, सुशासन र समृद्धिको ग्यारेन्टी भएको समेत बताए ।