१७ पुस, काठमाडौं । आजदेखि जन्मिएको पुस्तालाई जेन (जेनेरेसन)बेटा भनिने भएको छ ।
सन् २०१० देखि सुरू भएको जेन अल्फाको विकासक्रम रोकिएर जेन बेटाको विकासक्रम सुरू भएको हो । जेन बेटाको विकास सन् २०३९ को अन्त्यसम्म रहनेछन् । सन् २०४० देखि अर्को पुस्ताको सुरुआत हुनेछ । सामाजिक अध्येता तथा जनसांख्यिक विश्लेषक मार्क म्याक्रिन्डलले अबको १५ वर्षसम्म जन्मिने पुस्तालाई जेन–बेटा नाम दिएका हुन् ।
उनका अनुसार प्रविधि क्षेत्रमा भएको तीव्र प्रगति, सामाजिक चुनौती र विश्वव्यापी परिवर्तनको आकार लिने समयमा हुर्किने भएकाले यस पुस्तालाई जेनेरेसन अर्थात् जेन बेटा नाम दिइएको हो । यो पुस्ता पूर्णरूपमा स्वचालित यातायात साधन, लगाउने मिल्ने स्वास्थ्य उपकरण र प्रविधि, भर्चुअल वातावरणलाई सामान्य दैनिक जीवनका रूपमा प्रयोग गर्ने पहिलो पुस्ता हुनेछ ।
जेन बेटा पुस्ताका बालबालिका मुख्यतया जेन वाई (१९८०–१९९४ ) र जेन जेड (१९९६–२०१०) का अभिभावकबाट जन्मनेछन् । जेन वाई र जेन जेड डिजिटल युग र सामाजिक सञ्जालमा अनुकूलित भइसकेको पुस्ता हुन् ।