|  

स्वर्णलक्ष्मी सहकारी प्रकरणमा रविसहित ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने राय

१७ पुस, काठमाडौँ ।  काठमाडौं प्रहरीले स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनमा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन तयार पारेको छ ।

प्रहरीले अनसन्धान प्रतिवेदन बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गर्ने तयारी गरेको काठमाडौं प्रहरीका एसपी एसपी नवराज अधिकारीले जानकारी दिए ।

४४ जना प्रतिवादीबाट प्रहरीले एक अर्ब १९ करोड ४९ लाख रुपैयाँ बिगो मागदावी लिनुपर्ने राय दिएको छ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न रविसहित जीबी राई, पूर्वडीआईजी छविलाल जोशी, दीपक लामा, कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहित ४४ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय प्रहरीले दिएको छ ।

कात्तिक २१ मा सहकारी लेखा समिति सदस्य सुनिता नेवा र कार्तिक २६ मा ऋण उपसमिति सदस्य कमल लामालाई पक्राउ गरेर काठमाडौं प्रहरीले अनुसन्धान थालेको थियो । रवि र छवि विरुद्ध हाल पोखरा जिल्ला अदालतमा थुनछेक बहस जारी छ ।