१८ पौष, काठमाडौं । बुद्ध एयरको जहाजमा यात्रारत एक यात्रुले आपतकालीन (इमर्जेन्सी) ढोका खोलेका छन् ।
बुधबार पोखराबाट काठमाडौंका लागि उड्ने क्रममा ती यात्रुले जहाजको इमर्जेन्सी ढोका खोलेको कम्पनीले जनाएको छ । प्राविधिक टोलीको परीक्षणपछि करिब ३ घण्टा ढिलो साँझ ६ः४० मा काठमाडौंका लागि उक्त जहाज उडाइएको थियो । यसअघि १० अक्टोबरका दिन काठमाडौंबाट जनकपुरका लागि बिहान ६ः०५ मा उडेको बुद्ध एयरकै जहाज जनकपुरको खराब मौसमका कारण डाइभर्ट भई विराटनगर पुगेको थियो । जनकपुरको मौसम सुधार भएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको जहाज ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा एक यात्रुले जहाजको इमर्जेन्सी ढोका खोलेका थिए ।
उक्त घटनापछि चालक दलले जहाज पार्किङ-वेमै फर्काएका थिए । जहाजको प्राविधिक जाँचका लागि काठमाडौंबाट टेक्निकल टिम गई सम्पूर्ण जाँचपछि दिउँसो १ बजेमात्र जहाज जनकपुर अवतरण गरेको थियो । यसबाट उडान प्रक्रिया अवरुद्ध भई त्यस दिनको उडान तालिका प्रभावित बनेको थियो । अनाहकमा इमर्जेन्सी ढोका खोल्ने यात्रुलाई विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाउने गरिएको छ । यात्रुले अब उप्रान्त यस्तो कार्य नगर्ने सर्तमा १ लाख जरिवाना तिराइएको बुद्ध एयरले जनाएको छ ।
इमर्जेन्सी ढोका प्रयोगबारे वायुसेवा कम्पनीका परिचारिकाले उडानअघि विस्तृत रूपमा यात्रुलाई जानकारी गराएका हुन्छन । आपतकालीन अवस्थामा बाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल र्पुयाउँछ । हवाई उडानमा खलल र्पुयाउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार १ देखि ३ वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय हुने प्रावधान छ । वुद्ध एयरले यस्ता यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरेको छ । वायुसेवा कम्पनीले उडान सुरक्षामा अनाहक खलल र्पुयाउने यात्रुलाई उडानमा थप प्रतिबन्ध लगाउन सक्ने प्रावधान छ । बुद्धले अनाकहमा इमर्जेन्सी ढोका खोल्ने यात्रुबाट अब क्षतिपूर्ति रकम १ लाख रुपैयाँ तिराइ सोही गन्तव्यका परोपकारी संस्थालाई सहयोग गर्ने जनाएको छ ।