|  

बहाल कर संघीय सरकारले संकलन गर्दा महानगरको आय घट्याेः बालेन शाह

१८ पौष, काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शाहले प्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवारपूर्वक संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइदिएको बताएका छन् । 

आज बसेको लेखा परीक्षणको प्रारम्भिक बैठकमा उनले यस्तो बताएका हुन । उनले संविधानले स्थानीय सरकारको एकल अधिकारका रूपमा दिएको बहाल कर संघीय सरकारले संकलन गरिरहेको र यसबाट पनि महानगरपालिकाको आय घटेको बताए । क्यासिनो, स्काइ वक र मेला महोत्सवमा लिइने शुल्कको उदाहरण दिँदै उनले भने, ‘पहिले आकाशे शिशाको पुलमा ५ प्रतिशत थियो, यसबाट महानगरपालिकाले वार्षिक २३ लाख ८६ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो, अहिले वार्षिक ५० हजार रुपैयाँ तोकिएको छ । यसबाट सोझै २३ लाख ३० हजार रुपैयाँ राजस्व घटेको छ, पहिले क्यासिनोमा खर्च गरिएको रकमको ५ प्रतिशत शुल्क थियो, अहिले प्रतिटिकटमा ५० रुपैयाँ तोकिएको छ ।’

उनका अनुसार पहिले मेला महोत्सव, कन्सर्ट, जादु सर्कसमा प्रवेशको ५ प्रतिशत कर थियो। अहिले महानगरभित्र प्रतिदिन १५ हजार रुपैयाँ तोकेको छ । वित्तीय अनुशासनमा नियामक निकायबाट प्राप्त भएका सुझावलाई योजना तथा कार्यक्रम तर्जुमादेखि नै कार्यान्वयन गरिएको प्रमुख साहको भनाइ छ । लेखा परीक्षण अधिकारीसँगका अपेक्षासँगै प्रमुख शाहले विभागीय प्रमुख र खर्च गर्ने अधिकारीहरूलाई परीक्षणका क्रममा माग गरिएका विवरण, आधार, प्रमाण र कारणहरू तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् ।