|  

प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि

१९ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

खेल बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुनेछ । प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले गर्ने कार्यक्रम छ । उद्घाटन समारोहपश्चात हुने खेलमा समूह ‘बी’ मा रहेको बैतडी र अछाम भिड्दा अर्को खेल डोटी र बझाङ खेल्नेछन् ।

पुस २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट संघमा आबद्ध प्रदेशका आठ जिल्लाको सहभागिता रहने छ । सार्वजनिक खेलतालिकाअनुसार सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’को विजेता र समूह ‘बी’को विजेताबीच पुस २५ गते फाइनल खेल हुनेछ।