|  

बीपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब अर्ब लाग्ने !

१९ पुस, काठमाडौं ।  बीपी राजमार्ग पुनर्निर्माणका लागि साढे ९ अर्ब रुपैयाँ लाग्ने देखिएको छ ।

गत असोजमा आएको बाढी र पहिरोले यो राजमार्ग अन्तर्गत भकुण्डेदेखि नेपालथोकसम्म ठाउँठाउँमा क्षति भएको छ । भक्तपुर सडक डिभिजन कार्यालयले गरेको प्रारम्भिक अध्ययन अनुसार यो राजमार्ग पुनर्निर्माणका लागि कुल ९ अर्ब ६६ करोड रुपैयाँ लागत लाग्ने देखिएको हो ।

बीपी राजमार्गको कालढुङ्गा चौकी डाँडा खण्डको १२ किलोमिटर सडकमध्ये ८ किलोमिटर खण्डमा पूर्ण रूपमा क्षति पुगेको छ । उक्त सडकमा तीन किसिमका पर्खाल लगाउनुपर्ने देखिएको छ । जसमा आरसीसी रिटेनिङ वाल, प्लम वाल, गेभिएन वाल लगाउनुपर्ने अध्ययन टोलीको निष्कर्ष छ । यो ८ किलोमिटर सबै खोलाले बगाएको छेउको बाटो हो ।

आरसीसी वाल खोला आउन सक्ने ठाउँमा लगाउनुपर्ने देखिएको छ । कतै प्लम वाल र कतै गेभिएन वाल लगाउनु पर्ने अध्ययन निष्कर्ष छ ।अध्ययनले यो खण्डका केही स्थानमा पहिला पुल बनाउनुपर्ने देखाएको थियो ।

तर पुल बनाउन महँगो पर्ने र पर्खाल लगाउँदा सस्तो पर्ने देखिएको छ ।यसअघि इन्टरमिडियट लेनको सडक थियो । जबरजस्ती दुई लेनमा प्रयोगमा ल्याइएको थियो । तर अब भने दुई लेन सडक निर्माण गर्ने तयारी छ ।