|  

बन्धक वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल कतार जाने तयारीमा

१९ पौष, काठमाडौं । इजरायलले कतारको राजधानी दोहामा एक प्रतिनिधिमण्डल पठाउने तयारी गरेको छ ।

गाजा युद्ध र बन्धक सम्झौताका सम्बन्धमा वार्ता सुरु गर्न उक्त टोली दोहा जान लागेका हुन् । प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘नेतन्याहूले मोसाद, शिन बेट र आईडीएफको कार्यकारी स्तरको प्रतिनिधिमण्डललाई दोहामा वार्ता जारी राख्न अनुमति दिनुभएको छ ।’

यसैबीच बन्धकका परिवारको प्रतिनिधित्व गर्ने नागरिक, स्वयंसेवकमा आधारित संस्था ‘द होस्टेज एण्ड मिसिङ फेमिलीज फोरम’ले नेतन्याहूको निर्णयको स्वागत गर्दै ‘अवसरको ढोका’ गुम्न नहुने बताएको छ । एक्समा इजरायली भाषामा पोस्ट भएको सन्देशमा फोरमले भनेको छ,‘बन्धक र बेपत्ता परिवार फोरम इजरायली प्रतिनिधिमण्डललाई कतार पठाउने निर्णयको स्वागत गर्दछ । हामीले अवसरको ढोका गुमाउनु हुँदैन । प्रधानमन्त्रीले वार्ता टोलीलाई एक सम्झौतामा पुग्न अधिकार दिने र टोलीले हरेक बन्धकलाई फिर्ता गर्नेछ ।’