|  

कर्णाली प्रदेश सभाको अधिवेशन आह्वानका प्रदेश प्रमुखसमक्ष सिफारिस

१९ पुस, काठमाडौं ।  कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।  

बैठकले आसन्न माघ ७ गते कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले जानकारी दिएका हुन् ।

यस्तै, बैठकले कर्णाली प्रदेश वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि–२०८१, प्रशासन तथा विधेयक समितिबाट परिमार्जनसहित प्राप्त कर्णाली प्रदेश सरकार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरिएको छ ।

साथै, कर्णाली प्रज्ञा–प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेश जलचर संरक्षण विधेयक मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि–२०८१, मुख्यमन्त्री डिजिटल शिक्षा र नमूना विद्यालय कार्यक्रम कार्यविधि–२०८१, वृत्ति मार्गनिर्देशन सेवा केन्द्र सञ्चालन कार्यविधि–२०८१, विद्यालय पूर्वाधार विस्तार सुधार कार्यक्रम कार्यविधि–२०८१ र महिला उद्यमी पुरस्कार वितरण कार्यविधि–२०८१ समेत स्वीकृत गर्ने निर्णयसमेत भएको प्रवक्ता शाहले जानकारी दिए ।