|  

धार्मिक तथा प्राकृतिक स्थल कालिञ्चोक भगवती मन्दिर

२० पुस, काठमाडौं ।  दोलखाको कालिञ्चोक गाउँपालिकामा रहेको कालिञ्चोक भगवती मन्दिर धार्मिक, प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण छ ।

विशेषगरी पुस, माघ र फागुनमा हिउँ पर्ने भएकाले कालिञ्चोकको सौन्दर्य थप मनोरम बन्छ । गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने मनमोहक प्राकृतिक सौन्दर्यकै कारण केही वर्षदेखि कालिञ्चोक भगवती हिन्दु धर्मावलम्बीका लागि एक प्रसिद्ध तीर्थ स्थलको रूपमा विकास हुँदै गएको छ ।

समुद्री सतहभन्दा तीन हजार ८ सय ४२ मिटर उचाइमा रहेको यो क्षेत्रमा दुई नदीहरू सुनकोसी र तामाकोसीको मिलनबिन्दुले थप रमणीय बनाएको छ । कालिञ्चोकको प्रमुख आकर्षण कालिञ्चोक भगवती तीर्थ नै हो । कालिञ्चोकमा सबैभन्दा उच्च बिन्दुमा रहेको ठाडो पहाडको माथि कालिञ्चोक भगवतीको मन्दिर छ।

त्यहाँ आफैँ उत्पन्न भएको शिव-पार्वती कुण्ड मन्दिरको प्रमुख विशेषता हो।किंवदन्ती अनुसार, जलकुण्डको दायाँतिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धाराबाट सुनकोसी बगेको मानिन्छ।