२० पुस, काठमाडौं । महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ गर्ने दक्षिण कोरियाको प्रहरीको प्रयास विफल भएको छ ।
करिब ६ घण्टा लामो संघर्षपछि दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योललाई पक्राउ गर्ने प्रहरीको कदम रोकिएको हो। युनको सुरक्षामा रहेको सेनाको टोलीले मानव पर्खाल बनाएर पक्राउ गर्न आएका प्रहरीको बाटो छेकेकोछ । युनको सुरक्षा दस्ता तथा दक्षिण कोरियाली सेनाले प्रहरीलाई रोक्नका लागि बाटोमा सवारीसाधनसमेत तेस्र्याएको थियो ।
युनमाथि शक्तिको दुरुपयोग गरेको र सैन्य कानुन लागू गर्न खोजेको भन्दै महाभियोग प्रस्ताव संसद्मा पुगेको छ। संसद्मा महाभियोग प्रस्ताव पुगेपछि उनी निलम्बित भएका छन् । दक्षिण कोरियामा संसद्को महाभियोग प्रस्तावको अन्तिम निर्णय संवैधानिक अदालतले गर्छ ।
तीन पटक बोलाउँदा पनि युन अदालतमा उपस्थित नभएपछि उनलाई पक्राउ गर्ने अनुमति दिएको थियो । त्यही आधारमा प्रहरीको टोली शुक्रबार युनलाई पक्राउ गर्न गएको थियो ।