२० पौष, काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै पक्षको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेसका नेता सिंहले आज बर्दिवासमा पार्टी कार्यकर्तासँगको भेटमा वर्तमान सरकार संविधान संशोधन गर्ने सहमतिका साथ गठन भएको बताउँदै संसद्मा प्रतिनिधित्व गर्ने सबै दलसँग संविधान संशोधनका बारेमा पर्याप्त छलफल र गृहकार्य गर्नुपर्नेमा जोड दिएका हुन् । उनले स्थिर सरकारले नै मुलुकलाई विकास निर्माणको मार्गमा अग्रसर हुन योगदान गर्ने बताए ।
वर्तमान सरकार प्रतिनिधिसभाको अर्को निर्वाचनसम्म रहने भन्दै उनले वर्तमान सरकार बनेयता आमजनमानसमा अब बीचमा सरकार ढाल्ने र बन्ने खेल नहुने आश जागेको बताउ । साथै उनले पार्टी कार्यकर्तालाई ऊर्जावान भएर सङ्गठन विस्तारमा लाग्न आग्रह गरेका छन् ।