२० पुस, काठमाडौं । दरबारमार्गस्थित सिटिजन्स बैंकको शाखा कार्यालयको ‘सिस्टम ह्याक’ गरेर ३ करोड रूपैयाँ भन्दा बढी रकम चोरी भएको पाइएको छ ।
एफवान सफ्ट नामको सफ्टवेयर कम्पनीले बैंकमा खाता खोलेको थियो । एफवानले नै सिटिजन्स बैंकको सफ्टवेयर बनाएको थियो । प्रहरीको साइबर ब्यूरोमा उजुरी परेपछि अनुसन्धान गर्दा सफ्टवेयर ह्याक गरेर एफवान सफ्टकै खाताबाट तीन करोड ५१ लाख ५० हजार ३७० रूपैयाँ चोरी भएको तथ्य फेला परेको हो ।
ब्यूरोले यो प्रकरणको अनुसन्धान गर्दा २४ जना संलग्न रहेको पाइएपछि उनीहरूविरुद्ध विद्युतीय कसुरमा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
तर, प्रतिवादी बनाइएका २४ मध्ये हालसम्म नौ जना मात्रै पक्राउ परेका छन् । प्रहरीका अनुसार ह्याक गरिएको रकम उनीहरूको खातामा ट्रान्सफर विदेश पठाइएको पाइएको छ ।
‘अनुसन्धान गर्दा ह्याकरको समूह विदेशमै बसेर बैंकको सिष्टम ह्याक गरेर नेपालीको खातामा रकम ट्रान्सफर गरेर रकम विदेशतर्फ लग्ने गरेको पाइयो’, ब्यूरोका एक अनुसन्धान अधिकृतले भने, ‘ह्याक गर्दा बेलायतको आईपी एड्रेस देखिएको छ ।’ तर, ह्याकरको समूहले अन्य ठाउँबाटै ह्याक गरेर आईपी एड्रेस बेलायतको राखेको आशंका प्रहरीको छ ।